Sunday, July 16, 2017

चटपटे र पानीपूरि खानेले यो पढ्न नछुटाउनु होला

म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु, चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि !
२०७४, १ साउन आइतबार १९:१३
डा. अरुणा उप्रेती
सिन्धुपाल्चोकका स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ । विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन खानुपर्छ भनेर बतायौँ ।

खाजा खाने बेला स्कुलमा चटपटे बेच्ने महिलाले मीठो गरेर चटपटे बनाइन्, त्यसमा अमिलो भनेर चिनीजस्तो वस्तु हालिन् । मैले भनेँ, ‘चटपटेमा अमिलोको सट्टामा किन गुलियो हाल्नुभयो ?
‘होइन, यो त अमिलो हो, यसलाई चिनी अमिलो भनिन्छ, कागतीको अमिलो हाल्दा त एकदम महँगो हुन्छ । यही सस्तो पनि, बच्चालाई मनपर्ने अमिलो पनि’ भन्दै पोको पार्दै ती दिदीले वरिपरि उभिएर बसेकालाई चटपटे दिइन् । मसँगै काममा हिँडेकी उमाले भनिन्, ‘यो चिनी अमिलो त मैले घरमा पूजाका भाँडा, तामाका भाँडा माझ्न प्रयोग गर्छु । यसमा रहेको अमिलोपनले भाँडाको फोहोर सट्टै जान्छ ।’
‘यसरी भाँडा सफा गर्ने चिनी अमिलो बालबालिकाको पेटमा गएपछि यसले कति खराब होला । वास्तवमा यो त भाँडा मस्काउने अमिलो साबुन नै खाएको हो ।’ मैले त्यसरी चिनी अमिलोजस्तो विषालु रसायन नेपाली बालबालिकाले खालान् भनेर मैले कल्पना नै गरेकी थिइनँ ।
यो घटनाले मलाई केही महिनाअघि दिल्ली जाँदाको समाचार याद दिलायो । चनाचटपटे बेच्ने एक मानिसले फोहोर पानी हालेर बेचेको खबर पाएपछि केही सरकारी मानिस आएर चटपटेमा प्रयोग गरिने पानी कति शुद्घ छ भनेर जाँचेर हेर्दा उनीहरू छक्क परे । चटपटेमा हालिने पानीमा त शौचालय सफा गर्न प्रयोग गर्ने हारपिकमा प्रयोग गरिने रसायन भेटियो । कर्मचारीले त्यस मानिसलाई पानीमा किन हारपिकको रसायन देखियो भन्दा उसले भनेको कुरा सुनेर कर्मचारी स्तब्ध भए । ‘म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’ ती पसलेलाई मिसावट गरेको हुनाले ६ महिनाको जेल सजाय दिइयो । उनी अहिले जेलबाट निस्केर पक्कै पनि फेरि पानीपुरी र चटपटे बेच्दै होलान् ।
हामीले सिन्धुपाल्चोकका छात्रछात्रालाई सोध्यौँ, ‘तिमीहरु कति चटपटे र पानीपुरी खान्छौ ?’
सबैले ‘मीठो मानेर प्रायः खाजा नै त्यही खान्छौँ’ भने । अनि हामीले एउटा फोहोर कचौरा ल्याएर, त्यो चिनी अमिलो हालेर कचौरा सफा गर्‍याै‌ भन्यौँ, ‘अहिले तिमीहरूले के देख्यौ ? सबैले भने, ‘तपाईंले चिनीजस्तो वस्तुले भाँडा सफा गरेको देख्यौँ ।’
यो वस्तु तिमीहरूले खायौ भने के हुन्छ भनी सोध्दा छात्रछात्राले एकै स्वरमा भने, ‘कहाँ यस्तो भाँडा सफा गर्ने वस्तु खानु नि । यसले त हाम्रो पेट खराब गरिहाल्छ नि । यो त साबुनजस्तो पो रहेछ ।’
‘तर तिमीहरूले त यो दिनै खान्छौ नि ?’
‘होइन, हामी त खाँदैनौँ, यस्तो विषजस्तो वस्तु,’ छात्रछात्राले ठूलो स्वरले भने । ‘तिमीहरूले खाने चनाचटपटेमा त यही हालिन्छ नि’ भनेर हामीले चना, केराउ, प्याज, भुजामा नुन हालेर उनीहरूलाई चाख्न दियौँ ।
‘मिठो छ तर अमिलो छैन’ भनेपछि हामीले विद्यार्थीलाई देखाएर चिनी अमिलो हाल्यौँ र केही विद्यार्थीलाई चाख्न दियौँ । उनीहरूले मीठो मानेर खाए र भने, ‘हो, अब त अमिलो र मीठो भएछ’ भने ।
‘हेर हामीले अमिलो भनेर हालेको यही चिनी अमिलो हो, जसले हामीले अघि फोहोर कचौरा सफा गरेका थियौँ,’ मैले भनेँ । छात्रछात्राहरू ‘लौन, यस्तो त हामीलाई थाहै थिएन’ भनेर कुरा गर्न थाले । अनि हामीले उनीहरूलाई कसरी पानी पुरीमा पनि यसैगरी चिनी अमिलो वा शौचालय सफा गर्ने रसायन हाल्छन् भनेर बतायौँ । त्यसैगरी विभिन्न प्याकेटमा आउने चाउचाउ, कुरकुरे आदि पनि यस्तै शरीरलाई हानि गर्ने रसायन हालेर बनाइएको हुन्छ भनेपछि सबैले जिब्रो टोके । ‘यस्तो खाएर पो त हाम्रो पेट कटक्क काट्दोरहेछ’ भनेर आपसमा कुरा गरे । स्कुलमा शिक्षकले पनि भने, ‘यस्तो खराब रसायन हालेर चनाचटपटे र पानीपुरी बनाउँदा रहेछन् भन्ने कुरा त हामीलाई थाहै थिएन । हामीले झन् चनाचटपटे त स्वस्थकर हुन्छ भनेर पो खान्थ्यौँ त ?’
शिक्षकको कुरा सुनेर हामीले भन्यौँ, ‘चना चटपटे घरमा सफा तरिकाले बनाउने र कागतीको अमिलो हाल्ने, चाउचाउ न हालेर खाने हो भने त स्वस्थकर नै हो । पानीपुरी सफा तरिकाले घरमा बनाएर खाने हो, अस्वस्थकर वस्तु होइन । चिनी अमिलो हालेको पानीपुरी पो विष भयो त । कतिचोटि शौचालयमा सफा गर्न हालिने रसायन पनि तपाईंहरूले खानुभयो होला नि ।’
शिक्षकले भने, ‘अब हामी यसमा विचार गर्छौं । अब त सरकारले पनि स्कुलमा चाउचाउ र अस्वस्थकर वस्तु ल्याउन निषेध गराउनु भनेर चिठी पठाएको छ ।’ मैले भनेँ, ‘सरकारले सबै स्कुलमा आएर हेर्न सक्दैन । तपाईंहरूले नै चाउचाउजस्ता वस्तु खान विद्यार्थीलाई निरुत्साहित गर्नुपर्छ ।’
‘के गर्ने, तपाईं यस्तो भन्नुहुन्छ ? मेरी श्रीमतीले बच्चालाई दिनदिनै खाजा बनाउन झ्याउ भो भनेर मलाई दुई कार्टुन चाउचाउ ल्याइदिनु भनेपछि मैले किनेर लगिदिए । तर चाउचाउ बाहिरी प्याकेटका वस्तु यति खराब हुन्छ भन्ने थाहा थिएन,’ एक शिक्षकले अँध्यारो मुख लगाए । ‘तपाईंले समय–समयमा आएर हाम्रो विद्यार्थीका आमाबुबा, हजुरआमालाई पनि यस्तै कुरा सुनाइदिन्स् न । तपाईंले भनेपछि विश्वास गर्छन् । हामीले भनेको त टेरपुच्छर नै लगाउँदैनन् ।
‘यसरी फोहोर भाँडा माझ्ने कुरा मिसाएको खानुहुँदैन भनेर व्यावहारिक रूपमा भाँडा पनि माझेर देखादिनुस् न । अनिविश्वास गरिहाल्छन नि,’ मैले भनेँ । सिन्धुपाल्चोकमै स्कुलमा अभिभावक समूहमा पनि स्वस्थ खानाबारे छलफल गर्दा केही आमाले भने, ‘हाम्रा बच्चाले त पानीपुरी, चटपटे र चाउचाउबाहेक अरु त खाजा नै नखाने भन्छन् । अनि, हामी के गरौँ त ?’
आमाहरूको कुरा सुनेर उनीहरूलाई पनि चिनी अमिलो हालेर भाँडा सफा गरेर देखाएँ । त्यही चिनीअमिलो चना चटपटेमा हालेर अमिलो चटपटे ख्वाउन पनि लगाइयो । यसरी हाकाहाकी चिनी अमिलोजस्तो विष तपाईंहरूले आफ्नो सन्तानलाई ख्वाउनुहुन्छ भने हामी त केही भन्न सक्दैनौँ । भोलि तपाईंका छोराछोरी कुपोषित भए, बिरामी भएर अस्पताल लैजानुप¥यो भने त दुःख पाउने तपाईंहरू नै हो । तपाईंहरू नै विचार गर्नुस् आफू र आफ्ना सन्तानलाई कस्तो भोजन ख्वाउने ?’ अनि केही आमाले प्रश्न गरे, ‘त्यसो भए बच्चालाई के खाजादिने त ?’
‘खाजा त जति पनि छ नि । भुटेको भात, उसिनेको आलु, चना–चिउरा, बदाम, रोटी, अन्डा, खिचडी । यस्ता वस्तु ख्वाउन तपाईंहरूले सन्तानलाई प्रेरित नगरेर चिनी अमिलो र हारपिकजस्तो चिज हालेको खाना ख्वाउनुहुन्छ भने आफ्ना सन्तानलाई बिरामी होस् भन्ने श्राप दिइरहनुभएको छ । के तपाईं आफ्ना सन्तानलाई श्राप दिन चाहनुहुन्छ कि स्वस्थ हुने वरदान ? आफैँ विचार गर्नुस् ।’ हाम्रो कुरा सुनेर आमाहरू चुप छन् ।

यो लेख पढ्ने अभिभावक आफ्ना छोराछोरीलाई खाजामा के दिनुहुन्छ ?
chandragirinews वाट सापटि लिएको हो

Tuesday, July 19, 2016

सवारी लाइसेन्स शुल्कमा भारी वृद्धि

उत्तम काप्री काठमाडाैँ, साउन ३
यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको बताए।

त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ।

कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको उप्रेतीले सेतोपाटीलाई जानकारी दिए।

त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको उप्रेतीले बताए।

प्रकाशित मिति: सोमबार, साउन ३, २०७३
(सेतो पाटीवाट साभार)

Sunday, July 3, 2016

अब दश मिनेटमै राहदानी!

काठमाडौं, असार १९
मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ।
एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन्। परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन्।
राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता एवम् फाराम भर्ने लगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले सुश्री बुढाथोकीलाई राहदानी प्रदान गरेका हुन्। प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फाराम भरिएको १० मिनेटमा नै उनको राहदानी बनेको हो ।
६ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको छ भन्दै परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए।
विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको जानकारी दिँदै उनले त्यस्तो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताए।
सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ। त्यसैगरी रु १२ हजार शुल्क बुझाए दुई दिन र रु १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ।
विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्। जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ। यसअघि विभागले रु १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो।
प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत सेवाग्राहीले http://nepalpassport.gov.np/ मा ‘लगइन’ गरी आफ्ना विवरण आफ्नै कम्प्युटरमा स्वयम् भर्न सक्नेछन् । उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रूजु गर्न नगएमा उक्त पद्धतिबाट प्रस्तुत विवरण स्वतः हट्नेछ । सेवाग्राहीले विभागमा गएर पनि त्यस्तो विवरण प्रत्यक्ष दर्ता गर्न सक्नेछन्। रासस
(आजको सेतोपाटिमा खवर छ )

Wednesday, June 29, 2016

भुकम्प पीडिले ३ लाख पाउने

मङ्लबार, असार १४, २०७३  
काठमाडौं, १४ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुसहित बसेको चार दलीय कार्यदलको बैठकले भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ बसेको बैठकले उक्त विषयमा सैद्धान्तिक सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले भूकम्पपीडितलाई तीन लाख दिने सहमति गरे पनि एकमुष्ट दिने कि किस्ताबन्दीमा दिने भन्नेबारेमा छलफल हुन बाँकी रहेको छ ।
नेपाली काँग्रेसले भुकम्प पीडितलाई एक मुष्ट २ लाख दिनुपर्ने माग सहित सदन अवरुद्ध गर्दै आएको छ । काँग्रेसका माग बारे छलफल गर्न बसेको कार्यदल बैठकमा नेकपा माओवादी केन्द्रले भुकम्प पीडितलाई घर बनाउन ३ लाख दिनुपर्ने प्रस्ताव गरेको थियो । दलहरु बीचको सहमतिपछि सदन सुचारु हुने विश्वास गरिएको छ ।
(आजको आवाज अनलाइनले यो खवर लेखेको छ)

Thursday, June 23, 2016

बबरमहलमा २ राउण्ड गोली चल्यो

काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउँसो २ राउण्ड गोली चलाएकाे छ। कलंकी क्षेत्रमा अवैध असुली, डकैती र धाकधम्की दिएर रकम असुली गर्ने २६ वर्षीय जसवन्त रार्इलार्इ प्रहरीले गाेली प्रहार गरी नियन्त्रणामा लिएकाे हाे। ज्यान मार्ने उद्याेगमा फरार रहेका रहेका राई प्रहरी देख्नासाथ भागेका थिए।

उनलाई पछ्याउँदै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आत्मसमर्पण गर्न चेतावनी दिएको थियो। भाग्दै गरेका राईले बिजुली बजार नजिकै उल्टो प्रहरीलाई फलामको रडले हानेपछि प्रहरीले गोली चलाएको एसएसपी सर्वेन्द्रनाथ खनालले बताए।

प्रहरीले चलाएको गोली राईको घुँडा र तिघ्रामा लागेको छ। गोली लागेर घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल लगिएको एसएसपी खनालले बताए।

राई काठमाडौंमा कहलिएका गुण्डा नाइके समीरमान सिंह बस्नेत नजिक रहेर असुलीमा सक्रिय थिए। उनी विरूद्ध केही दिनअघि कलंकीका व्यापारीलार्इ मरणाशन्न हुनेगरी कुटपिट गरेकाे अाराेपमा प्रहरीले खाेज्दै अाएकाे थियाे। रार्इ भने लुकिछिपी बस्दै आएका थिए।
(खवर आजको नागरिक न्यूजवाट साभार गरिएको हो )

Sunday, June 19, 2016

अहिले एसलसी पास भएकाले पनि फेरी दुई वर्षपछि एसएलसी दिनुपर्ने

काठमाडौं ५ असार । अहिले एसएलसी दिएका विद्यार्थीले दुई वर्षपछि फेरि एसएलसी दिनुपर्ने भएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी रहेको नयाँ शिक्षा ऐन अनुसार अर्को वर्षदेखि १० कक्षामा एसएलसी परीक्षा हुँदैन । ऐनले १२ कक्षासम्मै विद्यालय तहको व्यवस्था गरेकाले १० कक्षाको सट्टा १२ कक्षामा एसएलसी परीक्षा हुन्छ ।

अहिले एसएलसी दिएका विद्यार्थी ११ कक्षामा भर्ना भएर पढिरहँदा नयाँ ऐन लागू भैसकेको हुन्छ । ऐन लागु भएपछि १० को सट्टा १२ कक्षामा एसएलसी परीक्षा हुन्छ ।
१० मा एसएलसी दिइसकेपछि फेरि उसले १२ कक्षामा पनि एसएलसी परीक्षा दिनुपर्छ ‘दिनुपर्छ’ शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने ‘परीक्षा पद्दति कस्तो हुन्छ भन्ने त तय हुन बाँकी छ, तर अहिले १० मा पढिरहेका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा र अहिले एसएलसी दिएका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा उस्तै ढाँचाको हुनेछ ।’

नयाँ ऐन लागू भएपछि बन्ने राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्नेछ । कक्षा ८ को जिल्लास्तरमा, १० को प्रदेश स्तरमा र १२ को केन्द्र स्तरमा परीक्षा हुने चाहिँ तय भैसकेको छ ।

‘१२ कक्षामा केन्द्र स्तरको परीक्षा हुने भएकाले एसएलसीको जस्तै ढाँचामा हुन्छ’ प्रवक्ता लम्सालले प्रष्ट पार्दै भने , ‘एसएलसीलाई बढी महत्व दिने प्रवृत्तिले समस्या पारेको मात्र हो, नत्र विद्यार्थीले हरेक कक्षामा परीक्षा दिने भएकाले अब हुने १२ को परीक्षा पनि सामान्य हो भनेर बुझ्दा राम्रो हुन्छ ।’


अाजको सेतो गुराँसमा खवर छ

Thursday, June 16, 2016

एसएलसी परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)



काठमाडौं: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्‍याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए।
परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११
२.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१
२.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६
१.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८
१.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३
०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८०००
०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना
नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ ।
एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना
२.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना
२.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना
१.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना
१.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना
०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना
०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना
एक्जाम्टेडतर्फ उमेर नपुगेका २७ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
परीक्षा नियन्त्रक काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए।
परीक्षा नियन्त्रक काप्रीले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए। 'नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००, ५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्नुहोला', काप्रीले भने, 'नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ।'
एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ। त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइटwww.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ।
त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ।

 source annapurna post 

Sunday, June 12, 2016

राति राति नचिनेको मान्छे आउथ्यो त्यसैले लग्यो हाम्रो आमा !

मध्यरातमा आमा पोइल गएपछि कान्छी छोरीले सोधिन्, ‘अंकल अंकल मम्मी कैले आउनुहुन्छ ?’
२७ जेठ  |   ओपेन्द्र बस्नेत

दाङ–मध्यरातमा छोरीलाई छोडेर आमा पोइल गएपछि दाङको तसुलसीपुर–५ संगीत नगरमा तीन बालिका अलपत्र परेका छन् । दुई हप्ता अघि १३ बर्षकी जेठी छोरी सुनिता विक, १० बर्षकी माइली छोरी गीता विक र ७ बर्षकी कान्छी छोरी खुश्बु विकलाई छोडेर आमा सरिता विक पोइल गएपछि उनीहरुको विचल्ली भएको हो ।

साँझ खाना खाएर सुतेका छोरीहरुले उठ्दा अमालाई नदेखेर रुनकराउन थालेपछि पोइल गएको थाहा भएको स्थानिय रमेश विकले जानकारी दिए । बुबा विदेश गएपछि आमासँग नचिनेको मान्छे आएर बस्ने गथ्र्यो सुनिताले भनिन्, ‘त्यसैले लग्यो क्या हो ।’ हेरचाह गर्ने बुबा विदेश र आमा पोइल गएपछि अलपत्र परेका बालिकाहरुलाई छिमेकीहरुले सामान्य हेरचाह गर्दै आएका छन् । बहिनी (कान्छी) ले मम्मी खै भन्दै रुदै गर्ने गरेको दिदी सुनिताले बताइन् ।

बालिकाको अवस्था बुझ्न गएका रातोपाटीकर्मीलाई कुराकनीको क्रममा कान्छी छोरी खुश्वुले भनिन्, ‘अंकल अंकल हाम्रो मम्मी कहिले आउनुहुन्छ ?’ उनको प्रश्न भुइमा खस्न नपाउँदै रोतोपाटीकर्मीले बिहान बेलुका के खान्छौ ? भनि सोधेको प्रश्नमा उनले भनिन्, ‘कहिले खान्छौ, कहिले भोक्कै सुत्छौ अंकल ।’

छेउमा उभिएकी एक बालिकालाई सिकाउँदै खुश्बुले भनिन्, ‘बाबाले फोनमा नरोएर बस म छिट्टै आउँछु भन्नुभएको छ ।’ घरमा तीन छोरीको हेरचाह गरेर बसेकी श्रीमती उठेर पोइल गएपछि विदेशमा तनावमा परेका मनिरामले दिनहुँ जसो छिमेकीलाई फोन गरेर विदेशबाट ३ लाख १० हजार रुपैयाँ श्रीमतीलाई पठाईदिएको भन्दै प्रहरीलाई भनेर झार्दिन आग्रह गर्ने गरेको छिमेकी गिता पुनले जानकारी दिइन् ।

उनका अनुसार श्रीमतिले विरामी छु भन्दै पैसा माग्ने गरेकी थिइन् । बालबालीकालाई हेर्ने आफन्त कोहि पनि नभएपछि मनिरामले छिमेकीलाई हेरिदिन भन्दै लागेको खर्च आफुले विदेशबाट पठाइदिने बताएको गीताले बताइन् । बालिकाहरुले ज्ञानज्योति प्रावि स्कुलमा क्रमशः ७ , ५ र २ कक्षमा पढ्दै आएका छन् । स्थानीयले सरितालाई पर–पुरुषसँग बसेको देखेपछि आगामी दिनमा गल्ती नगर्ने सर्तमा छोडेका थिए । उती बेलै हामीले प्रहरीलाई भनेर कार्बाही गर्न पठाउने थियौं, ‘तर बालिकाहरुको मुख हेरेर मात्रै छोडेका हौं’ रमेशले भने ।’
(आजको राटोपाटीमा खवर छ )

Saturday, June 4, 2016

संसदले शिक्षा विधेयक पारित गर्‍यो अस्थायी शिक्षकको समस्या समाधान हुने , एसएलसी हट्यो


बालकृष्ण बस्नेत/मकर श्रेष्ठ, काठमाडौं
जेष्ठ २२, २०७३- व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् ।

संसदको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले एक साताअघि संसदमा पेश गरेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।   संसदमा निर्णयार्थ पेस भएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाएका हुन् ।

संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा(आठौं संशोधन विधेयक २०७३) लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सभामुख ओनसरी घर्ती मगरले निर्णयार्थ पेस गरेको उक्त प्रस्तावको विपक्षमा 'हुन्न' भन्ने स्वर नसुनिएपछि सर्वसम्मतले पारित भएको हो । अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त कानुन कार्यान्वयनमा आउने छ ।

अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ । कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ । संविधान जारी हुनु भन्दा अघिल्लो दिनसम्म अस्थायी भएका  शिक्षकले विकल्प रोज्न पाउनेछन । शिक्षा मन्त्रालयका अनुसार यो विकल्प रोज्न पाउनेमा १७ हजार अस्थायी शिक्षक छन् । ५ वर्षदेखि १० वर्षसम्म अस्थायी सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब पाउनेछन ।

त्यस्तै १० वर्षदेखि १५ वर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने भएका छन । अवकाश छाडेर प्रतियोगिता रोज्ने अस्थायी शिक्षकले कुनै सुविधा पाउने छैनन् ।  हरेक जसो सरकारका बेला अस्थायी शिक्षकको माग सम्बोधनका लागि वर्षौदेखि कुरा उठ्दै आएको थियो ।
आजको ekantipur मा खवर छ ।
प्रकाशित: जेष्ठ २२, २०७३

Tuesday, May 31, 2016

एसएलसी नतिजा असार पहिलो साताभित्र, यस्तो हुन्छ एसएलसीको ग्रेडसिट


- मकर श्रेष्ठ, काठमाडौं

जेष्ठ १८, २०७३- यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन (ग्रेडिङ) प्रणालीबाट हुँदै छ । विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् । ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीमा कौतूहल छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए ।

विद्यार्थीको नाम रहने लाइनमा ‘द ग्रेट्स सेक्वर्ड बाई’ लेखिएको हुन्छ । पहिलो कोलममा विषय र त्यसको कोड नम्बर हुन्छ । त्यो सँगैको अर्को कोलममा क्रेडिट आवर लेखिएको छ । विगतमा सय पूर्णांक लेख्ने कोलममा अब ४ क्रेडिट आवर हुन्छ ।

सैद्धान्तिक र प्राक्टिकलको छुट्टाछुट्टै ग्रेडिङ गरेको हुन्छ । विगतमा फरक कोलममा नम्बर राखेको हुन्थ्यो । त्यसपछि अर्को कोलममा सैद्धान्तिक र प्राक्टिकलमा प्राप्त नम्बर जोडेर उक्त विषयको ग्रेड राखिएको हुन्छ । अर्को कोलममा स्तरीकृत अंक (ग्रेड प्वाइन्ट) राखिन्छ । उदाहरणका लागि अनिवार्य अंग्रेजीमा क्रेडिट आवर ४, सैद्धान्तिकमा ५३ अंक प्राप्त गरे ‘बी प्लस’ ग्रेड, प्राक्टिकलमा २० प्राप्त गरेमा ‘ए’ लेखिएको हुन्छ । सैद्धान्तिकमा प्राप्त ५३ र प्राक्टिकलमा प्राप्त २० जोड्दा ७३ हुन्छ । अंग्रेजीमा कुन ग्रेड प्राप्त गर्‍यो भन्ने कोलममा ‘बी प्लस’ ग्रेड लेखिएको हुन्छ । कुनै विषयमा ७० देखि ८० प्रतिशत ल्याएमा ‘बी प्लस’ ग्रेडमा राखिन्छ ।

प्राक्टिकलमा चाहिँ तोकिएको अंकभार र विद्यार्थीले प्राप्त नम्बरलाई प्रतिशतमा लगेर ग्रेडिङ गरिने परीक्षा नियन्त्रक काप्रीले बताए । जस्तै अनिवार्य अंग्रेजीमा २५ अंकभार प्रयोगात्मक हो भने यसलाई सय मानेर ग्रेडिङ गरिन्छ । प्राक्टिकलमा २० अंक पाएको छ भने अंकभार २५ ले भाग गरेर सयले गुणन गर्दा आउने अंक नै प्रतिशत हुन्छ । विषयको ग्रेडपछिको कोलममा उक्त विषयको ग्रेड प्वाइन्ट राखिन्छ । अंग्रेजीमा ७३ अंक ल्याएर ‘बी प्लस’ ग्रेड पाएको छ भने ग्रेड प्वाइन्ट ३.२ हुनेछ ।

विद्यार्थीले लेखेको उत्तरका आधारमा परीक्षकले अंक दिएको हुन्छ । शिक्षकले दिएको नम्बरलाई परीक्षा नियन्त्रण कार्यालयले अक्षरमा परिणत गरेर ग्रेडिङ गरेको हुन्छ । यसकै आधारमा विषयको ग्रेड र ग्रेड प्वाइन्ट निकालेको हुन्छ ।

गत वर्षसम्म विद्यार्थीको मार्कसिटमा सबै विषयमा प्राप्त नम्बर जोडेर कुन श्रेणी भन्ने तोकिएको हुन्थ्यो । कुनै विषयमा निर्धारित अंकभन्दा कम ल्याए फेल भनेर लेखिएको हुन्थ्यो । यो वर्षदेखि श्रेणी पनि छुटयाएको हुँदैन । फेल वा पास केही लेखिएको हुँदैन ।

ग्रेडसिटमा सबै विषयमा प्राप्त ग्रेड प्वाइन्ट जोडेर औसत स्तरीकृत अंक (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख हुन्छ । ८ विषयमा प्राप्त ग्रेट प्वाइन्टलाई ८ ले भाग गरेपछि औसत ग्रेड निस्कन्छ ।

विषयगत ग्रेड र ग्रेड प्वाइन्टले कुन विषयमा विद्यार्थीको सिकाइ क्षमता कस्तो छ ? यकिन हुन्छ । औसत ग्रेड प्वाइन्टले विद्यार्थीको समग्र मूल्यांकन हुन्छ ।

कसरी तय हुन्छ ग्रेड ?
अनिवार्य अंग्रेजीको सैद्धान्तिकमा ५३, प्राक्टिकलमा २०, प्राप्त गरेमा विषयको ग्रेड बी प्लस र ग्रेड ३.२ हुन्छ । त्यस्तै नेपालीमा ६०, गणितमा ९०, विज्ञानको सैद्धान्तिकमा ६० प्राक्टिकलमा २४, सामाजिकमा ६०, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको सैद्धान्तिकमा ५५, प्राक्टिलमा २४, ऐच्छिक प्रथममा ७०, दोस्रोको सैद्धान्तिकमा ५०, प्राक्टिकलमा २५ अंक ल्याएमा माथिकै जस्तो ग्रेड सिट बन्नेछ ।

एसएलसी नतिजा असार पहिलो साताभित्र
परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । ‘९० प्रतिशत काम सकियो,’ नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘ढिलोमा असार पहिलो साताभित्र नतिजा आइसक्छ ।’

सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भई कार्यालयमा आइसकेको उनले बताए । ‘केन्द्रले ७ गतेदेखि डाटा इन्ट्री सुरु गरेको छ,’ उनले भने । चैत १८ देखि २९ सम्म चलेको परीक्षामा नियमित र आंशिक गरी ६ लाख १५ हजार विद्यार्थी सहभागी थिए । डाटा इन्ट्री भएको बढीमा २५ दिनभित्र नतिजा प्रकाशन गरिसक्ने योजना बनाएको छ । यस अनुसार कार्यालयले जेठ मसान्तभित्रै नतिजा प्रकाशन गर्न सक्छ ।
प्रकाशित: जेष्ठ १८, २०७३
kantipur.ekantipur.com

विदेशबाट फर्केकाले ल्याउने टिभीमा के छ नयाँ बजेटको व्यवस्था ?


सकेसम्म सबैलाई रिझाउने गरी ल्याइएको यो वर्षको बजेटमा विदेशबाट फर्केकाले ल्याउने टिभीमा चाहिँ के गरेको छ व्यवस्था भन्ने चासो स्वदेशवासीहरुलाई नभए पनि परदेशवासीहरुलाई पक्कै भयो होला। तर उनीहरुलाई रिझाउने व्यवस्था गरिएको छैन।
आर्थिक विधेयक २०७३ पल्टाएर हेर्दा पुरानो प्रावधानमा खासै कुनै नयाँ परिवर्तन गरिएको छैन। पोहोरपरारकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिने प्रावधान कायम छ। इन्च गनेर लिइने एकमुष्ट भन्सार महसूलको दरमा पनि कुनै परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभी ल्याउँदा कति भन्सार तिर्नुपर्छ त ? विस्तृत विवरण पढ्न भित्र क्लिक गर्नुस्।

आर्थिक विधेयक २०७३ को ४०१ पेजमा यसबारे उल्लेख छ-


बुझ्नुभयो होला, वैदेशिक रोजगारमा गएर कम्तिमा लगातार १२ महिना काम गरी फर्केको नेपाली नागरिक हो भने ३२ इञ्चसम्मको टिभी ल्याउँदा केही पनि तिर्नुपर्दैन।
त्यसो होइन भने दुई किसिमको भन्सार महसूल तिर्नुपर्छ- तपाईँ ६ महिनासम्म विदेशमा बसेको हो कि ६ महिनाभन्दा बढी बसेको हो? ६ महिनासम्म बसेको भए इन्च गनेर एउटा भाउ, छ महिनाभन्दा बढी बसेको भए अर्को भाउ।
त्यो माथि विधेयकमा लेखिएको त भन्सार महसूल मात्र हो। त्यसमा थप ५६५ रुपैयाँ भन्सार सेवा शुल्क पनि तिर्नुपर्छ। त्यसो भए ठ्याक्कै कत्रो टिभी ल्याउँदा कति रुपैयाँ तिर्नुपर्छ भन्ने तपाईँलाई लाग्न सक्ला। तलको सूची हेर्नुस्-


यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।
यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।
माथिको भन्सार कार्यालयको सूचनामा आर्थिक ऐन २०७० बमोजिम लेखिएको छ, अहिले त २०७३ साल हो, मिल्छ त भन्ने लाग्ला। मिल्छ। किनभने भन्सार महसूलमा कुनै हेरफेर गरिएको छैन। सेवा शुल्क पनि उस्तै हो।
(my sansar  वाट )

Thursday, May 26, 2016

प्रावि, निमावि र उच्च मावि तह हटाइने

बिहीबार १३ जेष्ठ, २०७३
काठमाडौं- सरकारले विद्यालय शिक्षालाई एकीकृत गर्ने गरी शिक्षा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। व्यवस्थापिका संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक कल्याण समितिको बुधबार बैठकले अनुमोदन गरेको 'शिक्षा ऐन २०२८ (आठौं) संशोधन गर्न बनेको विधेयक, २०७२' मा कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मान्यता दिन प्रस्ताव गरिएको छ।
विधेयक मस्यौदामा तीन तहको विद्यालय संचरनालाई एकीकृत गरिएको छ। हाल प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक गरी तीन तह रहेकामा अब प्रारम्भिक बालविकासदेखि ८ सम्म आधारभूत तह र ९ देखि १२ कक्षासम्म माध्यमिक तह रहनेछन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेस गरेको उक्त विधेयक चैतमा संसदीय समिति पठाइएको थियो। उक्त समितिमा भएका छलफललाई समेट्न गठित १० सदस्यीय विधेयक प्रतिवेदन निर्माण उपसमितिले मंगलबार पेस गरेको प्रस्तावलाई बुधबारको समिति बैठकले २२ बुँदामा संशोधनसहित अनुमोदन गरेको समिति सदस्य डिआर पौडेलले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका तर्फका सांसद एवं उपसमिति सदस्य पौडेलले पारित शिक्षा विधेयकले विद्यालय शिक्षाबारे स्पष्ट व्यवस्था गरेको बताए। 'उच्च माध्यमिक तहका शिक्षकलाई माध्यमिक तहमा समायोजन गरी अघि बढ्ने व्यवस्थाले विद्यालय शिक्षालाई व्यवस्थित बनाउनेछ,' पौडेलले नागरिकसँग भने, 'उच्च माध्यमिक शिक्षा परिषद र एसएलसी परीक्षा बोर्डलाई समायोजन गरी राष्ट्रिय परीक्षा बोर्ड गठन हुने व्यवस्था अनुमोदन भएको छ।'
नयाँ व्यवस्थाअनुसार कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड र कक्षा १० को क्षेत्रीय स्तरमा सञ्चालन हुनेछ। कक्षा ८ को परीक्षा जिम्मेवारी जिल्लालाई दिने प्रस्तावित विधेयकमा छ।
संघीय संविधान कार्यान्वयनसँगै देश प्रदेशमा गएपछि के गर्ने भन्ने पनि विधेयकले बाटो देखाएको छ। जसअनुसार क्षेत्रको साटो प्रदेशले कक्षा १० को परीक्षा सञ्चालन अधिकार पाउने व्यवस्था राखिएको पौडेलले जनाए।
संशोधित विधेयक संसद बैठकले पास गरेपछि ऐनका रुपमा कार्यान्वयनमा जानेछ।
प्रस्तावित संशोधित विधेयकअनुसार उच्च माध्यमिक शिक्षा परिषद ऐन, ०४६ खारेज हुनेछ भने एसएलसी परीक्षा बोर्ड समायोजनसहित राष्ट्रिय परीक्षा बोर्ड गठन गरिनेछ। हाल उच्च माध्यमिक तहका कार्यरत शिक्षकलाई त्यसपछि मावि तहमै समायोजन गरिने विधेयकले व्यवस्था गरेको छ।
विधेयक संशोधनले लामो समयदेखि विद्यालय शिक्षामा कार्यरत अस्थायी शिक्षकका समस्या सम्बोधन गर्ने पौडेलले दाबी गरे।
संशोधन प्रस्तावमा मुख्य दुई विषयलाई बढी प्राथमिकता दिइएको छ। अस्थायी शिक्षककोे समस्या अलावा यसले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यालय शिक्षामा समावेश गर्नेछ।
नयाँ ऐन आएपछि २०४९ सालदेखि २०७२ असोजसम्म निरन्तर सरकारी विद्यालयमा अस्थायी रुपमा कार्यरत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनेछन्। अस्थायी शिक्षक लामो समयसम्म काम गरे पनि स्थायीका लागि आन्तरिक प्रतिस्पर्धामा भिड्न नपाउने व्यवस्थाले देशभर कार्यरत करिब २० हजार अस्थायी शिक्षक अवसरबाट वञ्चित छन्।
पौडेलका अनुसार विधेयकमा नयाँ निजी विद्यालय खोल्न सहकारी मोडल व्यवस्था गर्न प्रस्ताव गरिएकोमा बैठकमा विवाद भयो। कांग्रेसका जीवन परियार, उमेश श्रेष्ठलगायतले सहकारी व्यवस्थाको विरोध गरेका थिए। एमालेका राजेन्द्र पाण्डे, वंशीधर मिश्र, श्रीमाया थकाली र सिन्दुजलेसा बुढाथोकीले निजी विद्यालयलाई सहकारीबाटै खोल्न पाउने व्यवस्था राख्न अडान लिएका थिए। सहकारी व्यवस्थामा विवाद आएपछि कम्पनी र सहकारी दुवै व्यवस्था हटाएर सार्वजनिक र निजी गुठीबाट निजी विद्यालय खोल्ने प्रावधान राखेर विधेयक समितिबाट अनुमोदन गरिएको पौडेलले जानकारी दिए।
नयाँ विधेयक मस्यौदाअनुसार प्रावि र निमाविमा स्थायी नियुक्ति पाएका शिक्षक योग्यताअनुसार प्रतिस्पर्धाबाट माविमा बढुवा हुन पाउनेछन्। यसले शिक्षकलाई माथिल्लो तहमा योग्यताअनुसार प्रतिस्पर्धाका लागि बाटो खोलेको छ।
अहिलेसम्म प्रावि र निमाविमा स्थायी नियुक्ति पाएका शिक्षकले योग्यता पुगे पनि माविमा बढुवा हुन पाउने व्यवस्था थिएन।
सरकारी विद्यालयमा सरकारी कर्मचारी दरबन्दीको नयाँ व्यवस्था विधेयकमा गरिएको छ। 'दरबन्दीमा हाल कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिइने व्यवस्था गरिएको छ,' पौडेलले भने, 'उनीहरुको हकमा उमेर हदबन्दी भने लाग्दैन।'
०६४ सालपछि र ०५२ ताका द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्स्थापित गर्न छानबिन समिति गठन गरी अघि बढ्ने व्यवस्था विधेयक मस्यौदामा छ।
समग्र शिक्षा नीति बनाउन आयोग गठन गरिने पनि विधेयकमा व्यवस्था गरिएको छ।
यसअघि विधेयक पारित गराउन पूर्व शिक्षामन्त्रीहरुले कोसिस गरे पनि विभिन्न अड्चन आएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षामन्त्री दीनानाथ शर्माले पनि शिक्षा ऐन आठौं संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष लगेकामा फिर्ता भएको थियो।
पूर्व शिक्षामन्त्री एवं एमाले शिक्षा विभागप्रमुख गंगालाल तुलाधारले संविधानको मर्मअनुकूल हुने गरी विधेयक आए पनि यसले खासै शैक्षिक सुधार गर्न नसक्ने प्रतिक्रिया दिए। यसका केही राम्रा पक्ष पनि रहेको उनले उल्लेख गरे।
लोकसेवा आयोग अध्यक्षको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले सिफारिस गरेको व्यक्ति राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त हुने व्यवस्थाले भने शिक्षा क्षेत्रमा सकरात्मक सुधार ल्याउने उनले औंल्याए।
विधेयकले शिक्षा क्षेत्रको विकराल समस्या केही हदमा समाधन गरे पनि निजी क्षेत्रमा देखिएको समस्या समेट्न नसक्ने उनको दाबी छ।
'यो शिक्षा विधेयकले निजी र सरकारी शिक्षाबीचको अन्तर हटाउँदैन,' पूर्व शिक्षामन्त्री तुलाधरले भने, 'यथास्थितिबाट शिक्षा क्षेत्रको विकास अग्रगमनतर्फ जाने अपेक्षा यो विधेयकबाट गर्न सकिन्न।'
संसदीय समितिका सदस्यसमेत रहेका कांग्रेस सांसद उमेश श्रेष्ठले ऐनमा निजी विद्यालय खोल्ने सहकारी र कम्पनीको व्यवस्थाले निजी शिक्षा व्यवस्थापनमै चुनौती थपिने भएकाले सार्वजनिक र निजी गुठीबाट खोल्ने व्यवस्था राख्न सहमति जुटेको बताए।
अहिले संसदीय समितिमा पाँच निजी विद्यालयका सञ्चालक नै सांसद रहेको जनाउँदै उनले अब आउने शिक्षा ऐनले समग्र शिक्षा क्षेत्रमा अग्रगामी विकास गर्ने दाबी गरे।
'नयाँ संशोधन विधेयकअनुसार स्कुलका हेडसर र शिक्षक ५–५ वर्षमा सरुवा हुनेछन्,' श्रेष्ठले भने, 'विगतमा स्कुल व्यवस्थापन समितिमा अभिभावक मात्र बस्ने व्यवस्थालाई परिमार्जित गरी स्कुललाई सहयोग गर्ने, दान दिने स्थापनामा सहयोग गर्नेहरुसमेत अध्यक्ष बस्न पाउने व्यवस्था राखिएको छ।'
संसारभरि कक्षा १२ सम्म विद्यालय शिक्षा मान्ने परिपाटी रहेकाले नयाँ व्यवस्थाबाट अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण सहज हुने उनले औंल्याए। नयाँ व्यवस्थाअनुसार अस्थायी, स्थायी र करार शिक्षक व्यवस्थापनमा सरकारको २० अर्ब रुपैयाँ आर्थिक भार थपिने उनको भनाइ छ।
    आजको nagarik news मा खवर छ । 

बिहानैदेखि चलेका छैनन सार्वजनिक यातायातका साधन

अन्नपूर्ण |
काठमाडौंः नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज चक्काजाम कार्यक्रम गरेको छ ।
संघको जक्काजामका कारण बिहीबार बिहानैदेखि सार्वजनिक तथा भाडाका सवारी चलेका छैन् । निजी सवारीका साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।
भाडाका सवारी नचल्दा लामो तथा छोटा गन्तव्यका लागि सडकमा निस्किएका यात्रुलाई समस्या परेको छ ।
चक्काजाम बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म जारी रहने महासंघले जनाएको छ ।
महासंघलाई आन्दोलन नगर्न आग्रह गर्दै गृहमन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी दिएपनि महासंघ तथा यातायात मजदुरले सवारी चलाएनन् । गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी सवारी बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो । तर मजदुर संगठनले भने चक्काजामको कार्यक्रम यथावत रहेको विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनका लागि जेठ एक गतेदेखि लागूहुनेगरी पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिने नियम लागू गरेको छ ।
annapurna post मा खवर छ ।

Tuesday, May 17, 2016

बाइकको मूल्य ह्वात्तै घट्यो पल्सरको मूल्य जम्मा १२ हजार मात्रै


काठमाडौं, ४ जेठ । ५८ लटको पल्सर मोटरबाइकको वास्तविक मूल्य २ लाखभन्दा बढी छ । तर, त्यही मोटरबाइक राजधानीमा १०–१५ हजारमा पनि कारोबार हुने गरेको छ । बूढानीलकण्ठको एक वर्कसपबाट गोकर्णेश्वरका मञ्जिल तामाङले १८ हजार रुपैयाँमै ५८ लटको २४१६ नम्बरको मोटरबाइक खरिद गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वर्कसपका सञ्चालक रमेश मुखियाले ६ हजार नाफा लिएर मोटरबाइक तामाङलाई बिक्री गरेका थिए । उनले १२ हजार रुपैयाँमा मोटरबाइक आशिष कार्की र योगेश अधिकारीसँग खरिद गरेका थिए ।
यति सस्तोमा उनीहरूले बिक्री गर्न कहाँ किने मोटरबाइक ? ‘किनेका होइनन्, चोरी गरेका हुन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी विश्वमणि पोखरेलले भने, ‘त्रिवि शिक्षण अस्पतालको पार्किङबाट उनीहरूले मोटरबाइक चोरी गरेका थिए । चोरी गरेको मोटरबाइक भएकाले सस्तोमा बेचे ।
कार्की र अधिकारी पक्राउ परेपछि दुवैले लामो समयदेखि मोटरबाइक चोरी गरी बिक्री गर्दै आएको पनि खुलेको छ । महाराजगन्ज वृत्तले उनीहरूसहित मोटरबाइक चोरी र बिक्रीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

वर्कसप सञ्चालक वीरगन्ज घर भएका रमेश मुखिया, मोटरबाइक किन्ने गोकर्णेश्वरका मञ्जिल तामाङ र राजकुमार नेसुरलाई प्रहरीले पक्राउ गरेको छ । ‘हालसम्म उनीहरूले तीनवटा मोटरबाइक चोरी गरेको खुलेको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पोखरेलले भने । महाराजगन्जमा दुईवटा र गौशलामा एउटा मोटरबाइक चोरी गरी उनीहरूले बिक्री गरेका थिए ।

वर्कसप सञ्चालकले चोरीका मोटरबाइक खरिद–बिक्री गर्दै आएको खुलेको छ । नक्कली नम्बर प्लेट राखेर तीन मोटरबाइक प्रयोग भइरहेका थिए । चोरीमा संलग्न कार्की गत वर्ष पनि मोटरबाइक चोरीकै आरोपमा पक्राउ परेका थिए । तर, त्यसवेला १६ वर्ष नपुगेकाले प्रहरीले मुद्दा नचलाई छलफल गराएर मिलापत्र गराएको थियो । छुटेपछि पनि उनी सुध्रिएनन् ।

हरेक महिना राजधानीमा करिब ५० वटा मोटरबाइक चोरी भएको उजुरी प्रहरीमा पर्ने पर्छ । सबैभन्दा धेरै महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको पार्किङबाट मोटरबाइक चोरी हुने गरेको छ । अस्पतालको पार्किङ ठूलो भएको र सुरक्षा व्यवस्था कमजोर रहेकाले त्यहाँबाट चोरी हुने गरेको हो ।
ह्यान्डल भाँची तार जोडेर स्टार्ट गर्ने र मोटरबाइक लिएर फरार हुने गरेको अनुसन्धानमा खुलेको छ । ‘अस्पतालमा जाने मान्छे तनावमा हुने र आफ्नो सवारीतर्फ ध्यान नदिने गरेकाले चोरहरूले अस्पतालको पार्किङबाट धेरै चोर्ने गरेका हुन्,’ डिएसपी पोखरेलले भने, ‘प्राय: पार्किङ गरेर अस्पतालभित्र छिर्नेबित्तिकै एउटाले सवारीधनीको पिछा गर्ने र अर्काेले चोरी गर्ने प्रवृत्ति देखिएको छ ।’

Saturday, May 14, 2016

नयाँ ट्राफिक जरिवाना आजबाट लागु भयो : ट्राफिक नियम पालन गरौँ

१५०० रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।

१००० रूपैयाँका जरिवाना हुने कसुर
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

५०० रूपैयाँका जरिवाना हुने कसुर
१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको
(पत्रिकाबाट)

Thursday, May 12, 2016

तपाई सवारी चलाउनु हुन्छ ? सनिवारबाट बढ्यो ट्राफिक जरिवाना

संवाददाता काठमाडौं, वैशाख ३०
ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना पर्सि शनिबारदेखि लागू गर्ने भएको छ। यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो।
सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महाशाखाका डिएसपी ज्ञानेन्द्र पाख्रिनले सेतोपाटीलाई बताए। ‘करोडौंको गाडी चढ्नेहरुका लागि २ सय जरिवाना उपयुक्त पनि भएन,’ महाशाखाका डिआईजी प्रकाश अर्यालले भने, ‘पूरानो ऐनलाई संशोधन गर्दै समयअनुकल बनाएका हौं।’
ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक  कारबाहीमा पर्ने गरेका छन्।
पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म। तर, नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।
ट्राफिक प्रहरीले जरिवाना एक्कासी बढाएपछि चालकले भने चर्को असन्तुष्टि जनाएका छन्। उनीहरूले उपत्यकाको सडक साघुँरो र जिर्ण भएको, सडक बत्ति नभएको र उपत्यका जस्तो स्थानमा ट्राफिक लाईटको व्यवस्था नभएको स्थानमा ती कुराहरुलाई वेवास्ता गरि जरिवाना मात्र एक्कासी बढाउनु असान्र्दभिक भएको बताएका छन्।
के गरे कस्तो कारबाही
५०० जरिवाना हुने कसुरहरू
१ तोकिएको भन्दा बढी मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ हेल्मेट नलगाएको
६ सवारी आवागमनमा बाधा पुरयाएको
७।अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८ छतमा यात्रु बोकेको वा राखेको

१००० जरिवाना हुने कसुरहरू
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० सम्म जरिवाना हुने कसुरहरू
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
सेतोपाटीवाट साभार 

Monday, May 9, 2016

आफ्नो श्रीमातीको नग्न तस्वीर SMS मा पठाएपछि ।

फोटो फ़ाइल 
एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।
चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।
पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।
गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।
news24 बाट साभार 

Thursday, May 5, 2016

स्कूटी चालाक महिलाको मृत्यु भएपछि जोरपाटीमा तनाव

दीपेन्द्र विष्ट, काठमाडौं
वैशाख २३, २०७३- स्कुटरमा सवार मूलपानीकी विमला खनालको ट्यांकरको ठक्करबाट मृत्यु भएपछि अहिले राजधानीको जोरपाटी क्षेत्रमा तनाव भएको छ ।

बा ३८ प ६०८७ नम्बरको स्कुटरमा सवार खनालको ट्यांकरको ठक्करका कारण मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । जोरपाटी दक्षिणढोका क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
ekantipur वाट 

Wednesday, May 4, 2016

पुरानो बसपार्क खुलामञ्चमा सर्याे, २९ तले भवनको निर्माण भोलिदेखि सुरु

सुदिल पोखरेल काठमाडौं, वैशाख २२
२९ तले भवन निर्माणको लागि पुरानो बसपार्क खुलामञ्चमा सरेको छ। बसपार्क खुलामञ्चमा सरेपछि भोलिदेखि जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले भवन निर्माण कार्य सुरु गर्ने भएको छ ।

तर आवश्यक तयारीबिना पुरानो बसपार्क खुलामञ्चमा सार्दा ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ। बसहरुको लागि लेनको व्यवस्था छैन। जसका कारण अस्तब्यस्त रुपमा सार्वजनिक सवारी साधन पार्किङ गरिएको छ।

जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका प्रमुख मनोज भेटवालले खुलामञ्चमा शौचालय, चमेना गृह तथा प्रतिक्षालयको निर्माण गर्न लागिएको बताएका छन्। बसपार्कमा भवन निर्माण थाल्ने भएपछि जलेश्वरले ७ करोड खर्च गरी खुलामञ्चमा बसपार्कको व्यवस्था गरिदिएको छ। खुलामञ्चको आधा भागमा पिच गरिएको छ। तर सवारी साधन पस्ने र निक्लने ठाउँ साघुरो भएका कारण ट्राफिक व्यवस्थापनमै असर परेको छ।

भेटवालले भने ‘भोलिदेखि निरन्तर निर्माणको काम सुरु गर्छाैँ, तारबार तथा बागबजार जाने बाटो छुट्टाए पश्चात ८ देखि १० दिन भित्रमा भवनको नै निर्माण सुरु हुन्छ।’ सवारी साधनको फ्लो अनुसार लेन निर्धारण गर्ने सोचका साथ बुधबार नै बसपार्क स्थानान्तरण गरेर परिक्षण गरेको उनले बताए। साथै उनले बिहिबार देखि लेनको समेत निर्माण गर्ने बताएका छन्।

अस्तव्यस्त रुपमा गाडी पार्किङ भएका कारण यात्रु भने आफ्नो गन्तव्यका सवारी साधन नभेटेर हैरानीमा परेका थिए। दोलखाका ७२ वर्षीय ज्ञानेन्द्र बहादुर कार्कीले खुलामञ्चमा आप्mनो घर जाने गाडी १ घन्टादेखि खोजेको तर नपाएको बताए।

उनले भने ‘पहिलेको ठाउँमा कहाँ हो भनेर ठ्याक्कै थाहा थियो तर यहाँ त कहाँ हो कहाँ, कताबाट भित्र पस्ने र गाडी खोज्ने भन्ने नि थाहा भएन जताततै गाडी छ छिर्ने ठाउँ नै छैन, गाडी खोज्न जाँदा किचिएर मरिएला भन्ने डर।’

यता बसपार्क सरेसँगै पुरानो बसपार्कका व्यापारीको व्यवसाय भने सुकेको छ। कतिपय त खुलामञ्चमा सरीसकेका छन्। सानो बसापार्क क्षेत्रमा फुटपाथ व्यापारीका कारण बसपार्क झनै अव्यवस्थित भएको छ।

२९ तले बन्ने भनिएको काठमाडौं टावरको नक्सा पास भने १२ तलाको मात्रै छ। मापदण्ड नभएका कारण काठमाडौं टावरको भवन निर्माण आचारसंहिता अनुसार १२ तलाको मात्रै नक्सा पास पाएको  काठमाडौं महानगरपालिका बताउँछ।

 तर भेटवाल भने एक हप्ताभित्रै क्याबिनेटबाट २९ तला नक्सा पासको निर्णय हुने बताउँछन्। गत कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले यो भवनको शिलान्याश गरेका थिए।
जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले २९ तले निर्माण गर्न पाउने आशमै निर्माण कार्य थालनी गर्न लागेको छ।

काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौं टावर १ अर्ब ७५ करोडको लगानीमा निर्माण हुन लागेको हो। पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा बन्न लागेको यो टावर ३० वर्षपछि भने महानगरपालिकाको सम्पत्ति बन्ने भएको छ।

यो भवन सञ्चालन गर्दासम्म जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लिले महानगरपालिकालाई वार्षिक रुपमा २ करोड ७० लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको छ। तर यो सम्झौता २९ तले भवनको लागि  मात्रै हो।

महानगरपालिकाले काठमाडौं टावरको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लि.लाई ३ वर्षको निर्माण अवधि तोकिदिएको छ। निर्माण पश्चात कम्पनीले २७ वर्षसम्म सञ्चालन गर्न पाउने छ।

२९ तले भवनमा २ तला अण्डर ग्राउण्ड हुनेछ। ३ वटा तलामा बस, माइक्रो तथा मोटरसाइकल पार्क गरिने छ। सबैभन्दा तलको अण्डरग्राउण्डमा ठूला बस, १ तला अण्डरग्राउण्ड र पहिलो तलामा  गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गर्ने महानगरपालिकाको योजना छ।

पुरानो बसपार्क क्षेत्रको ४० प्रतिशत क्षेत्रमा मात्रै यो टावर बन्ने छ भने ६० प्रतिशत क्षेत्र खुला रहने छ।
setopati मा खवर छ 

Wednesday, April 27, 2016

सेनामा रोजगारीको अवसर, २२ सय १४ पदमा दरखास्त आह्वान

काठमाडौं, बैशाख १५ -
सेनामा जागिर गर्न इच्छुक नेपा
ली युवालाई अवसर खुलेको छ । सेनाले विभिन्न दुई हजार दुई सय १४ पदमा दरखास्त दिन आह्वान गरेको हो । लेखा जमदार, अमलदार, सैन्य, सैन्य ड्राइभर, सूचीकार, कुचीकार, बन्दोबस्ती, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी सयसलगायतका पदमा उक्त संख्यामा योग्यता पुगेका नेपाली युवाहरुबाट आवेदन मागेको हो ।
नेपाली सेनाले निकालेको विज्ञापनअनुसार आवेदकले वैशाख १५ देखि जेठ १३ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । यस्तै तोकिएको समयबाहेक थप सात दिनभित्र दोब्बर दस्तुर भरी आवेदन दिनसक्ने सेनाले जनाएको छ ।
सेनाले देशभरबाट आवेदन मागेको हो । देशैभरका विभिन्न भर्नाकेन्द्रहरुमार्फत मागिएको दरखास्त आवेदनमध्ये जंगीअड्डाबाट चार सय २२ जना, इटहरीबाट १६८, सिरहाबाट ११०, संखुवासभाबाट ७८, हेटौंडाबाट १२०, जलेश्वरबाट ११०, भरतपुरबाट ११०, नवलपरासीबाट १६१ जना मागेको छ । यस्तै, जोमसोमबाट ४०, तनहँुबाट २०५, सुर्खेतबाट ११४, जुम्लाबाट ८४, सल्यानबाट ७९, धनगढीबाट १३६, अछामबाट ८०, डडेलधुराबाट ९३ र सिन्धुपाल्चोकबाट ८४ जनाको आवेदन माग गरेको छ ।
थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोला
स्रोत 

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।